विराटनगर,८ कार्तिक ।
अरुण र दुधकोसी नदीको संगमस्थलमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १० जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
​
इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरीका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले दिएको जानकारी अनुसार उक्त दुर्घटना करिब ३ बजेतिर भएको हो ।

अरुण नदीमा इन्जिन अफ भई अनियन्त्रित भएर बगिरहेको डुंगा अरुण र दुधकोसीको संगमस्थलमा पुगेपछि पल्टिएको प्रहरीले जनाएको छ ।
​
प्रहरी निरीक्षक भट्टराईका अनुसार, दुर्घटनामा परेको डुंगामा कुल १६ जना यात्रु सवार रहेका थिए । घटनालगत्तै उद्धारमा खटिएको प्रहरी टोलीले १० जनाको उद्धार गर्न सफल भएको छ भने उद्धार गरिएकामध्ये ३ जनाको मृत्यु भइसकेको छ । अन्य ३ जना हराइरहेका छन् ।

भोजपुरको माथिल्लो क्षेत्रबाट फर्किंदै गरेको उक्त डुंगा दुर्घटनामा परेको हो । यतिबेला प्रहरी टोली घटनास्थलमा खटिएर थप उद्धार काम गरिरहेको छ । मृतकको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ ।