बाँके,८ कार्तिक ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीमा दुईवटा कार एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । उनलाई उपचारका क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ । उक्त कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग तत्कालै पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।