बुटवल,७ कार्तिक ।
चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम निकै कम भइरहेकाे भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूपन्देहीले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ ।

स्वास्थ्योपचारका क्रममा विगतको तुलनामा रगतको माग बढिरहेको र बिरामी तथा दुर्घटनाका घाइतेलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्तदान आवश्यक रहेको शाखाले जनाएको छ ।

रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति राम चन्द्र उपाध्यायले समाजसेवी, विभिन्न क्षेत्रका अगुवा तथा सचेत नागरिकलाई नजिकैको रक्त सञ्चार सेवा केन्द्र वा इकाइमा पुगेर स्वस्फूर्त रूपमा रक्तदान गर्न र अरूलाई पनि प्रेरित गर्न अनुरोध गरेका छन् । ‘बिरामी पर्नु वा दुर्घटना हुनु जस्ता आपत्तकालीन अवस्थाहरु पूर्ण रुपमा अप्रत्याशित हुन्छन् । यस्तो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै तत्काल रगतको आवश्यकतालाई सहज रुपमा व्यवस्थापन गरिरहनु हामी सबैको मानवीय दायित्व हो,’उनले भने ।

सभापति उपाध्यायका अनुसार रक्तदान गर्न चाहनेले बुटवलस्थित रक्त सञ्चार सेवा केन्द्रमा ९८५७०४१००४ र ९८४७०२८६३३ तथा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) को रक्त सञ्चार सेवा इकाई (ब्लड बैंक) मा ९८६७३२६४५७ र ९८४७०३९३७३ मा सम्पर्क गर्न सक्नेछन् ।