काठमाडौँ,६ कार्तिक ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको जनाएको छ ।
यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै एकिन गर्न सकिने अवस्था नरहेको मौसम महाशाखाले उल्लेख गरेको छ ।
मौसम महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनामा अगाडि भनिएको छ,‘तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ ।’
यस्तो छ सूचना
मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषणको आधारमा आज बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र (Low Pressure Area) विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कार्तिक ९ गते (अक्टोबर २६) सोमबार चक्रवात आँधी (Cyclonic Storm) मा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
उक्त मौसम प्रणालीका कारण आगामी कार्तिक ११ (अक्टोबर २८) गते (बुधबार) देखि कार्तिक १५ (नोभेम्बर ०१) गते (आइतबार) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिन्छ । यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ ।
नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ। मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि यस विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ ।







