स्याङ्जा,६ कार्तिक ।
स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ः३० राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुसल छिन् ।

दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ । सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।