काठमाडौँ,५ कार्तिक ।
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ ।
हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।
साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान गरिएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो ।
यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन ।
साउदीको ऊर्जा मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई निसाना बनाएर प्रहार गरिएको ड्रोन हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेको थियो । तर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।
यद्यपि आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयको भनाइ छ ।






