बाँके,४ कार्तिक ।
बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई ज्यान मार्ने धम्की दिएकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैजनाथ गाउँपालिका ८ टिटिरिया बस्ने २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा सोही स्थान बस्ने २८ वर्षीय सन्दीप चौधरी र थारुबीच कात्तिक ४ गते बिहान करिब ५.३० बजे विवाद भएको थियो ।

उनीहरूबीच विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाई थारुलाई मार्ने धम्की दिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।