बुटवल,२३ असाेज ।
दल त्याग गरेपछि कपिलवस्तुको एक पालिका उपाध्यक्ष र वडाध्यक्षको पद गएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित उनीहरुले दल परित्याग गरेपछि पद रिक्त भएको छ । निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीको निर्णयसहित आयोगमा जानकारी गराएको थियो । सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त गरिएको आयोगले जनाएको छ ।
पदमुक्त हुनेहरूमा लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र विजयनगर गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष अनवर मोहमद मुसलमान छन् । नेकपा एमालेबाट निर्वाचित भएका उनिहरूले दल त्यागेका थिए । त्यसपछि उनिहरूकाे पद रिक्त भएको हो । उनीहरु पार्टी परित्याग गरी रास्वपामा लागेको घाेषणा गरेका थिए ।






