बुटवल,२२ असोज ।
जर्मनीको विकास माेडेलबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा सराेकारवाला हरूले जाेड दिएका छन् ।

नेपाल स्थित जर्मन संस्था फेडरिक इबर्ट स्टुफ्टुंङद्वारा आयोजित “आर्थिक विकास मार्फत लाेकतन्त्रकाे सुदृढीकरण” बिषयक अन्तरक्रिया कार्यक्रममा नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्झले नेपालकाे आर्थिक विकासमा जर्मनी महत्त्वपूर्ण साझेदार रहदै आएको भन्दै आगामी दिनमा पनि त्यसलाई थप बिस्तार गर्दै लैजाने प्रतिवद्वता जनाए । नेपालकाे सामाजिक पुँजीलाई राजनीतिक पुँजीमा बदल्नुपर्नेमा जाेड दिदै उनलेे जर्मनीको विकास माेडेलबाट नेपालले धेरै अनुभव लिनसक्ने बताए ।

एफ ई एस का आवासीय प्रतिनिधि सारा क्लास्माले राज्य बलियो हुन नागरिक समाज बलियो हुन जरुरी रहेको बताइन् ।
लाेकतन्त्र र अर्थतन्त्र सँगसँगै लैजानुपर्ने बताउदै उनलेे नेपालकाे भाैगाेलिक तथा सास्कृतिक बिबिधतालाई राजनीतिक पुँजीमा बदलेर आर्थिक विकास गर्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजका प्राध्यापक बिनय मिश्र जनताको अपेक्षा र राज्यले दिने सेवाबीचकाे खाडल ठूलो रहेको भन्दै अबको बहस संघीयता हुने / नहुने भन्दा पनि संघीयताकाे प्रभावकारी कार्यान्वयन कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

साे अवसरमा पृथ्वीनारायण क्याम्पस पाेखराका प्राध्यापक डा. कपिल अधिकारीले एआई ले नेपालकाे लाेकतन्त्र र सुशासनको जगलाई खल्बल्याउने काम गरेको भन्दै त्यसको सूरक्षित प्रयोग गर्नुपर्नेमा जाेड दिए । प्रविधिको अधिक प्रयोगले ज्ञान र सूचनाकाे जग हल्लिएकाे बताउदै उनलेे सुचना प्रविधिकाे क्षेत्रमा भएको विकासको सहि रूपमा सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत आरती चटाैत,एफ ई एस नेपालका स्राेत ब्यक्ति चन्द्रदेव भट्टलगायतले नेपालकाे लाेकतन्त्रकाे सवलिकरण,आर्थिक विकास सामाजिक न्यायको क्षेत्रमा जर्मनीको भूमिका र आगामी कार्यभार बारे छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले निजी क्षेत्रकातर्फबाट राजदूत भोल्झा र जर्मन टोलीलाई भैरहवामा स्वागत गर्दै नेपाल र जर्मनीले एक–अर्काबाट धेरै कुरा सिक्न सक्ने बताए । उनलेे नेपालसँग युवा जनशक्ति र बढ्दो आर्थिक तथा व्यवसायिक सम्भावना रहेको तथा जर्मनीसँग उन्नत प्रविधि, दक्ष जनशक्ति, सीप र सुदृढ संस्थागत अनुभव रहेको उल्लेख गरे । यी दुई देशका पूरक सम्भावनालाई दीर्घकालीन साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

लगानी, प्रविधि, सीप विकास र व्यवसायका क्षेत्रमा नेपाल–जर्मनी सहकार्यलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेशलाई दुई देशबीचको व्यवहारिक आर्थिक तथा व्यावसायिक सेतुका रूपमा विकास गर्न सकिने उनको धारणा थियो ।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेशप्रसाद अधिकारीले जर्मनीको अनुभवबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्नेमा जाेड दिदै निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सहि नभएको गुनासो गरे ।

कार्यक्रममा सहभागी जर्मन टोली तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिबीच नेपालमा लगानीको वातावरण,प्रविधि तथा सीप हस्तान्तरण,उद्यमशीलता प्रवद्र्धन र द्विपक्षीय व्यापार तथा व्यवसायिक सम्बन्ध विस्तारका सम्भावनाबारे छलफल भएको एफ ई एसका यस क्षेत्रका स्रोत ब्यक्ति बिक्रम खड्काले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा भएको उक्त छलफललाई नेपाल–जर्मनीबीच निजी क्षेत्रमार्फत आर्थिक सहकार्य विस्तार तथा जर्मनीको विकास अनुभवलाई नेपालको विकास प्रक्रियासँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।