बुटवल,१८ असोज ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा पर्ने पाल्पाको सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल आइतबार दिउँसो साढे १ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक अनियन्त्रित भई सडकबाट खसेको थियो ।

दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका पन्थको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डिएसपी भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।