बुटवल,१८ असाेज ।
बालिका अपहरणको आरोप लागेका एक अभियुक्तलाई रूपन्देहीको तिलाेत्तमाबाट प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपलागेका एक युवकलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् । उनलाई आइतबार राति तिलोत्तमा कै जंगलबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

बालिका अपहरणपछि फरार रहेका थारुलाई खोजी गर्ने क्रममा प्रहरीले तिलोत्तमाकै कान्छी बजार नजिकैको जंगलबाट गोली प्रहार गरि पक्राउ गरेको लिएको जनाएको छ ।

पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली प्रहार गरिएको प्रहरीको भनाई छ । थारुको खुट्टामा प्रहरीले प्रहार गरेको गोली लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

थारुमाथि गत बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको आरोप छ । राति करिब २ बजेतिर बालिकालाई ओढाइदिन परिवारका सदस्य कोठामा पुग्दा उनी बिस्तारामा नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि खोजि कार्यलाई तिब्र बनाएको थियो । प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो । बालिका फेला परेसँगै अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार मिलेको प्रहरीकाे दाबी छ ।

बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ । त्यसपछि थारुको खोजीलाई तीव्र बनाइएको थियो । जंगलमै लुकेर बसेको अवस्थामा आइतबार राति करिब १ बजे थारुलाई जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अपहरणमुक्त बालिका सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।