बुटवल,१७ असाेज ।
विद्यार्थी राजनीतिबाट उदाएर नेपाली कांग्रेस पाल्पाको सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका हिमालदत्त श्रेष्ठ पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।

पश्चिम नेपालकै महत्त्वपूर्ण क्याम्पसकाे स्ववियु सदस्य हुँदै स्ववियु सभापति,नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदा चर्चामा आएका श्रेष्ठ युवा अवस्थामै पार्टीको जिल्ला सभापतिकाे जिम्मेवारी सम्हालेका हुन् ।

पार्टीको १५ औं महाधिवेशन अन्तर्गत पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं २ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी स्वरूप हाल राजधानी काठमाडौंमा नेताहरूसँग सम्वादमा छन् ।

जिल्ला सभापतिमा पुनः दाेहाेरिने कि केन्द्रीय सदस्यमा उठ्ने तयारी छ ? भन्ने लुम्बिनीपाटीकाे जिज्ञासामा सभापति श्रेष्ठले जिल्लाकाे सभापतिमा अरूलाई सहयोग गर्ने र पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेगरि नेताहरूसँग सम्वादमा रहेको बताए ।

लामो समय नेविसंघको केन्द्रीय सदस्य हुँदा संगठन बिस्तारका क्रममा देशका अधिकांश जिल्लाकाे भ्रमण गरेकोले पनि प्राय सबै जिल्लाका अधिकांश नेता कार्यकर्तामाझ उनी परिचित रहेको उनी निकट नेता कार्यकर्ताहरूकाे भनाइ छ ।

उनका धेरै सहकर्मी तथा सहपाठीहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकाले पनि श्रेष्ठलाई केन्द्रीय सदस्यकाे निर्वाचन लड्न सहज हुने समर्थकहरूकाे विश्वास छ ।

नेविसंघको केन्द्रीय सदस्य हुँदा पार्टीका शिर्ष नेताहरूसँग राम्रो सम्बन्ध स्थापित गरेकोले पनि उनलाई नेताहरूकाे साथ रहने उनी निकटका नेता कार्यकर्ताहरूकाे दाबी छ ।