बुटवल,३० भदौ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–६, नारायणपुरबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६, नारायणपुर निवासी २३ वर्षीय अमन कुमार धवल र सोही स्थानका २० वर्षीय सुनिल केवट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार बिहान करिब ७ बजे धवलको घरमा रीतपूर्वक खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्तक सूचना अधिकारी आशिष बिश्वकर्माले बताए ।