काठमाडौं,२३ भदौ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो ।
आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ ।
कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ । तर,बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्ने जनाइएको छ ।






