बुटवल,२२ भदौ ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि रुपन्देहीका १८ जनाको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार बेपत्ता हुनेमा १९ वर्षदेखि ४५ वर्ष सम्मका सबै पुरुष छन् ।

भदौ १० गते बिहान आएको उक्त बाढीमा परेका प्रहरी जवानदेखि विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, कर्मचारी तथा सामान लिन रसुवा गएका सवारी चालकहरूको अवस्था आज १३ औं दिनसम्म पनि अज्ञात छ ।

प्रशासनको रेकर्ड अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाका ३–३ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिकाका २–२ जना तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र रोहिणी गाउँपालिकाका १–१ जना गरी १८ जना बेपत्ता भएका हुन् ।

बाढीमा परि बेपत्ता भएका बुटवल १२ का १९ वर्षीय अंश गिरी र २३ वर्षीय अनुप पुन माथिल्लो त्रिशूली ३ बि जलविद्युत आयोजनामा कार्यरत थिए भने वडा नं. ११ का ३८ वर्षीय जीवलाल अधिकारी माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनामा कार्यरत थिए ।

देवदह ७ का अस्विन अधिकारी र अस्मित अधिकारी सामग्री लिन सवारी साधन लिएर रसुवा नाका पुगेका चालक थिए भने वडा नंं. १० का धनबहादुर परियार एनडिज जलविद्युत आयोजनाका कामदार थिए ।

कञ्चनका माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत महेश आचार्य, रसुवा भन्सारमा कार्यरत लिलकुमार सुनार र रसुवा मैलुङ जलविद्युत आयोजनामा कार्यरत शिशिर विक पनि बेपत्ता छन् ।

त्यस्तै मैलुङ जलविद्युत आयोजनामा कार्यरत मायादेवीका अब्दुल खान र शिवनाथ थारु तथा रसुवा जलविद्युत आयोजनामा कार्यरत सैनामैनाका गणेश ज्ञवाली र जीवन चौधरीको अवस्था पनि अझै अज्ञात छ ।

जिल्ला प्रशासनका अनुसार सिद्धार्थनगरका माथिल्लो त्रिशूली ३ बि जलविद्युत आयोजनामा कार्यरत निरजबाबु रेग्मी, नुवाकोट पावर हाउसमा कार्यरत शिवप्रसाद चौधरी, रसुवा जलविद्युत आयोजनामा कार्यरत शुद्धोधनका निराजन पंगेनी, तिलोत्तमाका वसन्त थारु र प्रहरी चौकी रसुवागढीमा कार्यरत तिलोत्तमाका प्रहरी जवान सन्दीप भर बाढीमा परी बेपत्ता भएका छन् ।

यता कतिपय बेपत्ता व्यक्तिहरूको नाम भने जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैन । रसुवागढी जलविद्युत आयोजनामा कार्यरत बुटवल ११ का किशोर न्यौपाने क्षेत्रीको नाम जिल्ला प्रशासनको बेपत्ता भएकाहरूको सूचीमा छैन । आयोजनाको ३५० मिटर भित्र सुरुङको पावर हाउसमा हाइड्रो मेकानिकल ओभरसियर पदमा कार्यरत शिशिर भदौ १० गते बिहान पौने ९ बजेसम्म परिवार र आफन्तको सम्पर्कमा रहे पनि त्यसयता बेपत्ता छन् ।

बेपत्ता भएकाका परिवार तथा आफन्तहरू नारायणी र त्रिशूली किनार तथा विभिन्न अस्पताल पुगेर खोजी गरे पनि फेला नपारेपछि अझै पनि सकुशल फर्किने झिनो आशामा छन् ।

जलविद्युत आयोजनामा थुनिएका र घरभित्र पुरिएकाहरुको समेत जीवितै उद्धार गरिएको समाचार आउँदा जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धारलाई बढाउन सके आफ्ना प्रियजनहरूलाई सकुशल बाहिर निकाल्न सकिने आसमा छन् ।