भैरहवा,१९ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारतीय भूभागमा अहिलेसम्म फेला परेका १८ वटा शवलाई भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।
नारायणी नदीबाट गण्डक बाँध क्षेत्र हुँदै भारतको विभिन्न स्थानमा फेला परेका ती शवलाई भारतीय सुरक्षा निकायले पश्चिम नवलपरासी र रुपन्देही जिल्लाका सिमावर्ती सुरक्षा निकायलाई बुझाएको हो ।
भारतीय भूभागमा फेला पारी नेपाललाई बुझाइएका शवमा एक बालिका सहित १० जना महिला र ८ जना पुरुष रहेका छन् । भारतीय सुरक्षा निकायले पश्चिम नवलपरासी जिल्लामा ९ र रुपन्देही जिल्लामा ९ वटा शव हस्तान्तरण गरेका हुन् ।
भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाबाट १, उत्तरप्रदेशको महाराजगन्ज जिल्लाबाट ४ र कुशिनगर जिल्लाबाट १३ वटा शव नेपाललाई बुझाइएको हो ।
रुपन्देहीको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले भारतको उत्तरप्रदेशस्थित कुशिनगर जिल्लाको खड्डा थानाका जनपद पुलिसले पछिल्लो पटक बुधवार ४ वटा र मंगलवार राती कुशिनगरकै पडरौना थानाका जनपद पुलिसले ५ वटा शव नेपाल ल्याएर बुझाएको बताए ।
पश्चिम नवलपरासीका डिएसपी तथा सुचना अधिकारी मदन थापाले नरायणी नदी हुँदै बगेर भारततर्फ जाने शवका निम्ती भारतीय सुरक्षा निकायसंग समन्वय गरिएको अहिलेसम्म पश्चिम नवलपरासी र रुपन्देहीबाट गरि १८ वटा शव भारतीय पक्षबाट प्राप्त भएको बताए ।
शव हस्तान्तरणकालागि बेलहिया आइपुगेका खड्डा थाना कुशिनगरका सबइन्स्पेक्टर संजिव कुमार मौर्यले भारतको कुशिनगरस्थित खड्डा थाना क्षेत्रअन्तर्गत मदनपुर–सुक्रौलीस्थित नारायणी नदी किनारमा रहेको ३ नम्बर ठोकरबाट ती शव फेला परेको जानकारी दिए ।
शव फेला परेको उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । भने बिहारको पश्चिम चम्पारण र उत्तरप्रदेशको महारजगन्ज नेपालसंग जोडिएका भारतीय सिमावर्ती जिल्ला हुन् ।
कुशिनगर पडरौना थानाका मेजिष्ट्रेट देवेन्द्र कुमार यादवले फेला परेका शवलाई नियमानुसार भारतमा पंचायतनामा गरि पोस्टमार्टम गरिएको र डीएनएसहित आवश्यक प्रमाण सुरक्षित राखिएको बताएका छन् ।






