बुटवल, १८ भदाै ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले ५ लाख १ हजार ४५९ रुपैयाँ सहयोग गरेको छ ।
समितिका पदाधिकारी,सदस्य तथा व्यवसायी र समितिमा गठित स्वतन्त्र कर्मचारी युनियनबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समितिले जनाएको छ ।
समितिका पदाधिकारी, सदस्य तथा व्यवसायीबाट ४ लाख ४ सय ५९ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख प्रकाश गेरैले जानकारी दिए । समितिमा गठित स्वतन्त्र कर्मचारी युनियनबाट १ लाख १ हजार रुपैयाँ संकलन भएको अध्यक्ष हिम्मत आचार्यले बताउनु भयोे । संकलित रकममध्ये ३ लाख ५० हजार ४ सय ५९ रुपैयाँ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत र १ लाख ५० हजार रुपैयाँ नेपाल ट्रक यातायात व्यवसायी महासंघमार्फत उद्धार कोषमा पठाइएको समितिका अध्यक्ष यामबहादुर जिसीले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पश्चिमाञ्चल यातायात व्यवसायी समितिले गरेको सहयोगको प्रशंसा गरे । आफ्नै व्यवसायी तथा समुदायका सदस्यसमेत विपद्बाट प्रभावित भएको अवस्थामा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नु उदाहरणीय भएको उनले बताए ।
विपद्को समयमा सरकारी प्रयाससँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार र राहतमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला यातायात व्यवसायी समितिको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप बलियो बनाएको छ । समितिमा आवद्ध ११ वटा टृक चालक परिचालक समेत सो बाढीमा परि बेपत्ता भएको अध्यक्ष जीसीले बताए । यस्तो विष परिस्थितीमा पनि समितिले यस क्षेत्रमा संकलित राहत सामाग्री ओसार पसारका लागि दैनिक ३ वटा टृक निशुल्क रुपमा उपलब्ध गराउदै आएको छ ।
कल्पना सप्लायर्सद्धारा १ लाख ५१ हजार रुपैयाँ सहयोग
त्यस्तै कल्पना सप्लायर्सका प्रोपराइटर तथा यातायात व्यवसायी टीकाराम गौतमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । गौतमले उक्त रकम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको प्रोपराइटर गौतमले बताए । सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विपद्को समयमा पीडित नागरिकका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको बताए ।






