बुटवल,१७ भदौ ।
रूपन्देहीमा हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार साविक भुजौली गाउँ पञ्चायत-९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा तत्कालीन जग्गाधनी स्वर्गीय सुर्जा मिश्राइनले विसं २०२२ मै हदबन्दीमा परेको भन्दै कालीजी मन्दिरलाई दान गरेकी थिइन् । ती जग्गामा हाल पनि कालीजी र शिवजीका मन्दिर रहेका छन् भने स्थानीय समुदायले लामो समयदेखि पूजा तथा संरक्षण गर्दै आएको आयोगको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
तर उक्त जग्गा पछि पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरी नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरेर सरकारी मुआब्जा रकम प्राप्त गर्ने प्रयास भएको आयोगको आरोप छ । हदबन्दीमा परी सार्वजनिक भइसकेको जग्गालाई पुनः व्यक्तिको नाममा दर्ता गर्ने कार्य कानुनविपरीत भएको आयोगले जनाएको छ ।

यस प्रकरणमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य,नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, नायब सुब्बा अजितकुमार साहनी (चाई) र तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर विरुद्ध जनही ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ ।

त्यस्तै, जग्गाधनी पर्वतराज कान्त मिश्रलाई मुख्य कसुरदारहरूलाई गैरकानुनी लाभ दिलाउने कार्यमा मतियार भएको आरोप लगाइएको छ । उनीविरुद्ध पनि ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद तथा जरिवाना र सम्बन्धित जग्गा जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।