बुटवल,१७ भदौ ।
बुटवल उपमहानगरपालिकाले युवालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने उद्देश्यले विभिन्न १४ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत रोजगार शाखाले तालिम सञ्चालनका लागि आवेदन आह्वान गरेको हो ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार ग्राफिक डिजाइन, एसी फ्रिज मर्मत, लेखा तथा कार्यालय उपकरण, बरिस्टा, बेसिक ब्युटिसियन, ड्रोन सञ्चालन, लेखा पढी व्यवसायसम्बन्धी तालिम, एआई फर बिजनेस, कन्टेन्ट क्रिएटिङ तथा डिजिटल मार्केटिङ, प्रम्प्ट इन्जिनियरिङ, एडभान्स कम्प्युटिसियन, इलेक्ट्रिकल भेहिकल (EV) मर्मत, सिसी क्यामेरा जडान तथा मर्मत र वुड सीएनसीलगायतका तालिम सञ्चालन हुनेछन् ।

तालिममा २० देखि ४० जनासम्म सहभागीलाई समेटिनेछ। तालिमको अवधि २० देखि ६५ दिनसम्म तोकिएको छ । सहभागीका लागि आवश्यक शैक्षिक योग्यता भने तालिमअनुसार फरक–फरक रहेको छ । केही तालिमका लागि साधारण लेखपढ गर्न सक्ने भए पुग्नेछ भने केही तालिमका लागि कक्षा १२ पास वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्नेछ ।

तालिममा सहभागी हुन १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्नेछन् । सूचनामा विपन्न, गरिब तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

आवेदनका लागि नेपाली नागरिकता,राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा दुई प्रति फोटो आवश्यक पर्नेछ । सम्बन्धित तालिमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसमेत पेश गर्नुपर्नेछ ।

इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालय वा बुटवल उपमहानगरपालिकाको रोजगार शाखामा आवेदन दिन सक्नेछन् । सूचनाअनुसार तालिम निःशुल्क सञ्चालन हुनेछ भने तालिम छनोट तथा सञ्चालनसम्बन्धी सम्पूर्ण प्रक्रिया उपमहानगरपालिकाको निर्णयअनुसार हुने जनाइएको छ ।

बुटवल उपमहानगरपालिकाले यसअघि सञ्चालन गरेका तालिमको राम्रो प्रभाव देखिएकाले चालू आर्थिक बर्षका लागि थप सीपमूलक तालिम सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

तालिम लिएका करिब ५० प्रतिशत स्वराेजगार तथा सीपअनुसारकाे काममा संलग्न भएको पाइएको नगर प्रमुख पाण्डेयले बताए ।

आर्थिक बर्षकाे सुरुवातमै तालिम खुलाएपछि अहिले बुटवल उपमहानगरपालिकामा तालिमका लागि आवेदन दिनेको भिड लागेको बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्वन शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।