बुटवल,१५ भदौ ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको आयोजनामा अनलाइन भुक्तानी सम्बन्धि अन्तरक्रिया कार्यक्रम साेमबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलकाकर अधिकृत चिरञ्जीवी बस्याल र चार्टर्ड एकाउन्टेन्ट संस्था एक्यान लुम्बिनी प्रदेश अध्यक्ष शंकर अर्यालले अनलाइन भुक्तानी प्रणाली सम्बन्धि ब्यवस्था,त्यसमा आइपर्ने समस्या र समस्या समाधानका उपायबारे सहजिकरण गरेका थिए ।

साे अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य हरीप्रसाद अर्यालले पछिल्लो समय प्रचलनमा आएको अनलाइन भुक्तानी प्रणालीको प्रयोग गर्दा आइपर्न सक्ने समस्या र समाधानका उपाय बारे उद्योगी ब्यवसायीहरू जानकार हुनुपर्ने आवश्यकता महसुस गरि उद्योगी ब्यवसायीहरूकाे साझा संस्था उद्योग बाणिज्य संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै थप स्पष्टताका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा उद्योगी ब्यवसायीहरूले सरकारले ल्याएको कर नीतिका कारण साना ब्यवसायी मर्कामा परेको भन्दै कर नीतिलाई ब्यवहारीक र सहज बनाउनुपर्नेमा जाेड दिए ।

संघका अध्यक्ष अर्यालको अध्यक्षता र कर अधिकृत शंकर बस्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका पुर्व पदाधिकारी जेपी गुप्ता,बस्तुगत समितिकाे तर्फबाट राजन पाण्डेयलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमकाे सञ्चालन संघका महासचिव मुक्ति प्रसाद अधिकारीले गरेका थिए ।