काठमाडौं,१३ भदौ ।
नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि सिर्जित संकटको सामना गर्न अन्तर्राष्ट्रिय समुदायबाट ठूलो संख्यामा वित्तीय तथा भौतिक आपत्कालीन सहायताको घोषणा गरिएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले बाढीबाट अति प्रभावित परिवार र समुदायका निम्ति दुई मिलियन युरो सहायताको घोषणा गरेकी छन् ।
भारत सरकारले १० टन राहत सामग्री बोकेको तेस्रो विमान नेपाल पठाएको छ । साथै, उद्धारका निम्ति ११ चिकित्सक, पारामेडिक्स र विशेष प्राविधिक टोली परिचालन गरेको छ ।
क्यानडाका विदेशमन्त्रीले पाँच मिलियन क्यानेडियन डलर सहयोगको प्रतिबद्धता जनाएका छन् । न्युजिल्यान्डले नेपाल रेडक्रस सोसाइटी तथा अरू राहत संस्थाका निम्ति दुई मिलियन न्युजिल्यान्ड डलर सहयोगको प्रतिबद्धता जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले रसुवाका अस्थायी आश्रयस्थलमा रहेका बाढीपीडितका निम्ति २.५ टनभन्दा बढी खाद्य र आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।
रेडक्रसले आफ्नो विश्वव्यापी सञ्जाल परिचालन गर्दै तत्काल जीवनरक्षाका निम्ति २५ मिलियन स्वीस फ्रयांकको अन्तर्राष्ट्रिय अपिल जारी गरेको छ ।






