रोल्पा,२१ साउन ।
रोल्पाको सुनछहरी गाउँपालिका–१ मा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाउँदा एक ज्येष्ठ नागरिकको मृत्यु भएकाे छ । घटनाप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण टिप्पणीप्रति पालिकाकाे ध्यानाकर्षण भएको भन्दै वास्तविकता बुझेर मात्रै प्रतिक्रिया दिन सबैसँग आग्रह गरेको छ ।
सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले घटनापछि जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा साउन २० गते सुनछहरी गाउँपालिका–१ सेम घुसबाङका चार जना ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न नेपाल एसबीआई बैंकको पोबाङ शाखा पुगेको र घर फर्कने क्रममा खाेलाले बगाएर एक जनाको मृत्यु भएको उल्लेख गरेका छन् । उनका अनुसार भत्ता बुझेर घर फर्किने क्रममा साँझ करिब ५ बजेतिर सुनछहरी गाउँपालिका–१ र २ को सिमानामा पर्ने बाले खोलामा पानीको बहाव बढेका कारण खोलाले बगाउँदा वडा नं. १ का ७५ वर्षीय मसान घर्ती मगरको निधन भएको थियो । सोही घटनामा ७३ वर्षीय जरी घर्ती घाइते भएकी थिइन् ।
अध्यक्ष पुनले मृतक मसान घर्ती मगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइते जरी घर्तीको सुलिचौरस्थित सामुदायिक सेवा केन्द्रमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।






