बुटवल,२० साउन ।
बुटवल उपमहानगरपालिकाका पुर्व मेयर एवम् प्रतिनिधि सभाका पुर्व सदस्य तथा नेपाली कांग्रेसका स्वर्गीय नेता सुर्यप्रसाद प्रधानको १२ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा दीप प्रज्जलन तथा पुस्तकालय उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा बुटवल उपमहानगरपालिका वडा नं २ बैनाबगरमा आयोजित कार्यक्रममा स्वर्गीय नेता प्रधानले बुटवलको विकासमा पुर्‍याएकाे योगदान र राजनीतिक जिवनका बारेमा स्मरण गरिएको थियो ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्व र पार्टीका केन्द्रीय सदस्य रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँण,नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी,बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जीवन प्रसाद ओझा,नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सचिव बिमलराज भट्टराईलगायतले स्वर्गीय नेता प्रधान आधुनिक बुटवलका परिकल्पनाकार भएको स्मरण गरे ।

काेही ब्यक्ति राजनीतिमा र काेही ब्यक्ति सामाजिक कार्यमा मात्रै क्रियाशील रहने गरेको भन्दै उनिहरूले स्वर्गीय नेता प्रधान राजनीतिसँगै सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील रहेको बताए ।

साे अवसरमा स्वर्गीय नेता प्रधानकाे नाममा पुस्तकालय उद्घाटन गर्नुका साथै दीप प्रज्वलन गरिएको थियो ।