काठमाडौं,१९ साउन ।
अनशनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार (साउन १९) उनीहरूले अस्पताल परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘हामीलाई सरकार मात्र होइन, बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नर्सहरूको पारिश्रमिक तहअन्तर्गत हुनुपर्ने, श्रमशोषण अन्त्य गरिनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्नेलगायत मागसहित रानाभाट यही साउन १४ गतेदेखि अनशनमा छिन् ।
नेपाल नर्सिङ काउन्सिलबाट अनशन थालेकी उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ ।






