काठमाण्डौ,१६ साउन ।
२५ करोड रुपैयाँभन्दा कम स्थीर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम अब प्रदेश सरकार र मातहतका निकायबाटै हुने भएको छ ।

उद्योग विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो।

त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्र्स निर्धारणलगायतका अन्य छुट, सुविधा, सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ ।

विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप सात थरिका सेवा पनि अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ । विभागको सूचनामा यहि साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरिका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ ।