जनकपुरधाम,१५ साउन ।
सुनसरीको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ ।
सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ ।
धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेशलाई आज पनि कायम राख्ने निर्णय गरेका हुन् ।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना निम्त्याएको छ ।
घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका दुई जना डीएसपीसहित २२ जना प्रहरी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
स्थिति थप जटिल बन्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ ।
संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै शान्ति–सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यु आदेश यथावत् रहने संकेत दिएका छन् ।
प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई दिनसमेत अनुरोध गरेको छ ।






