सिरहा,१४ साउन ।
सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार, मृतक गणेश यादव रहेको बताए । गोली लागेर अर्का एक जना घाइते भएको लामाले जानकारी दिए ।
घाइतेको स्थानीय गोलबजारस्थित क्लिनिकमा उपचार भइरहेको छ । त्यसअघि गोलबजारमा दुई समूहबीच झडप भएको थियो ।
प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । ‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्, उनीहरूले मृतकको शव सडकमै राखेका छन्,’ बरालले भने ।
प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ । प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू गोलबजारतिर गएका छन् । स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको छ ।






