काठमाडौँ,१३ साउन
करिब दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन् ।

शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको पाइएको सीआईबीले जनाएको छ ।

उनलाई पक्राउ गर्न सीआईबीले मंगलबार जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिएको थियो । उनलाई मंगलबार बेलुका नागार्जुन नगरपालिका–८ को राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए ।