एजेन्सी,६ साउन ।
भारतमा कक्रोच जनता पार्टी (सीजेपी) र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ । निट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तरमन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बाबजुद प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूको छ ।
दिल्लीमा सीजेपीको आह्वानमा अस्ति सोमवार भेला भएका हजारौँ मानिसले संसद् भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट हिजो कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सडकबाटै राजनीतिक दबाव दिन थालेको छ ।
गान्धीसहितका कांग्रेस नेताहरू हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेका थिए । धर्नामा बसेका राहुल गान्धी, कांग्रेस नेत्री प्रियङ्का गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका नेता र कार्यकर्ताहरूलाई दिल्ली प्रहरीले पक्राउ गरेर केही घण्टामा छाडेको थियो ।
विद्यार्थीमाथि भएको लाठीचार्ज तथा राहुल र प्रियङ्का गान्धीलाई पक्राउ गरिएको विरोधमा कांग्रेसले केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा प्रदर्शन गरेको छ ।
आज भारतको तल्लो सदन लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन् ।
प्रदर्शनकारीहरूको तारोमा परेका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हिजो अबेर ’एक्स’ मा एउटा पोस्ट गर्दै र लोकसभामा विपक्षी नेता राहुल गान्धी र कांग्रेसले विद्यार्थीहरूलाई निरन्तर राजनीतिक रूपमा प्रयोग गरिरहेका टिप्पणी गरेका छन् ।
यसैबीच आन्दोलन संसद् भवनतर्फ अघि बढेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका १६ वटा व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ । स्टेसनका द्वारहरू बन्द गरिँदा हजारौँ यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन् ।
परिस्थिति नियन्त्रणबाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप २ हजार जवानलाई बङ्गालबाट एअरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ ।
आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तरमन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको जनाएका छन् ।






