माेरङ,४ साउन ।
छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षक सुन्दर हरैचा-२ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र सोही नगरपालिका १२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् ।

यस्तै, सुन्दर हरैचा १२ कै ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक) लाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुकुना माध्यामिक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै शिक्षकविरुद्ध प्रदर्शन तयारी गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

साथै उक्त घटनामा अनुसन्धान पश्चात अन्य व्यक्तिहरू समेत संलग्न रहेको खुल्न आएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले यस सम्बन्धमा सामाजिक सञ्जालहरुमा अनावश्यक टिप्पणी नगरिदिन अनुरोध गरेको छ ।

घटनाबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।