बुटवल,२ असार ।
बुटवल स्थित आधुनिक समाज डेन्टलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवल–१५,उजेलापुरमा रहेको मुक्तिनाथ अपाङ,दृष्टिविहीन तथा अनाथ आश्रममा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नयाँ आर्थिक बर्षकाे पहिलो दिन शुक्रबार आधुनिक समाज डेन्टलको टोलीले आश्रममा पुगेर आश्रित बालबालिका तथा अन्य व्यक्तिको दन्त परीक्षण गरेको हो । हाल आश्रममा २४ जना बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरू बसोबास गर्दै आएका छन् ।

आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालले नयाँ आर्थिक बर्षकाे पहिलो दिन सामाजिक काम गरेर सुरुवात गराैं भन्ने उदेश्यले आश्रममा आश्रतिहरूकाे दात तथा मुखकाे परीक्षण तथा उपचार गरिएको बताए ।

शिविरका क्रममा दाँतमा समस्या देखिएका तीन जनालाई थप उपचारका लागि क्लिनिकमा बोलाइएको उनलेे बताए । त्यस क्रममा आवश्यक औषधि वितरण गर्नुका साथै आश्रमलाई कोलगेट टुथपेस्ट र टूथब्रससमेत हस्तान्तरण गरिएको जानकारी दिए ।

दन्त चिकित्सक डा.गरिमा बश्यालले नियमित रूपमा दाँत माझ्ने, मुखको सरसफाइमा विशेष ध्यान दिने र समय–समयमा दन्त परीक्षण गराउने बानी बसाल्न आग्रह गरिन् ।

आश्रमका अध्यक्ष तुलाराम केसीले आश्रम सञ्चालनका लागि सहयोग नै मुख्य आम्दानीको स्रोत रहेको बताए । उनले दैनिक जीवनयापनका लागि गीत गाएर तथा विभिन्न क्षेत्रबाट सहयोग संकलन गर्दै आएको जानकारी दिए ।