काठमाडौँ,३२ असार ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल,विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभी अग्रवालसहित अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यस्तै, एमाले नेता विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । त्यस्तै, सुभी अग्रवाललाई १३ करोड ३३ लाख ५६ हजार १३६ रुपैयाँ बिगो दाबी कायम भएको छ । साथै हिमालयन एसेट म्यानेजमेन्टलाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी कायम गरेर मुद्दा दायर भएको छ ।
यसबाहेक, सुलभ अग्रवालको नाममा रहेको बालुवाटारको घर–जग्गा, रिद्धिसिद्धि सिमेन्टको १ करोड ७० लाख कित्ता शेयर, र दीपक भट्टको नाममा रहेका विभिन्न ८ वटा कम्पनीका १५६ रोपनी जग्गा जफत गर्न माग दाबी गरिएको छ । हिमालयन रि–इन्स्योरेन्स, श्रीराम टोबाको उद्योग र विभिन्न सहकारीको आवरणमा अर्बौँ रुपैयाँ अवैध रूपमा ओसारपसार र रूपान्तरण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पद र प्रभावको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरणमा सहयोग पुर्याएको (मतियारको भूमिका खेलेको) गम्भीर आरोप लागेको छ । अभियोग पत्रअनुसार पौडेलले अर्थमन्त्री हुँदा श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर (३ लाख ७५ हजार कित्ता) अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई दिलाउन सहजीकरण गरेकाे आराेप छ ।
कम्पनीको प्रतिसेयर किताबी मूल्य ८१६ रुपैयाँ ७१ पैसा रहे पनि प्रतिसेयर १०० रुपैयाँका दरले भट्टको कम्पनीलाई सेयर हस्तान्तरण गरिएको थियो । यसको बदलामा पौडेलले सुपारी आयातमा सहुलियत दिलाएको, राजस्व अनुसन्धान विभागको कारबाहीबाट जोगाएको र हिमालयन रि–इन्स्योरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको दाबी विभागले गरेको छ ।
मुख्य प्रतिवादी दीपक भट्टले ‘इन्फिनिटी होल्डिङ्स’ र ‘हिमालयन एसेट म्यानेजमेन्ट’मार्फत अवैध सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानले देखाएको छ । भट्टले जगदम्बा स्टिलबाट प्राप्त ४५ करोड रुपैयाँलाई स्रोत नखुलाई हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र ललितपुरको लामाटार लगायतका स्थानमा १५६ रोपनीभन्दा बढी जग्गा कम्पनीका नाममा खरिद गरी स्रोत लुकाएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवादी सुभी अग्रवालले कसुरबाट प्राप्त १३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकमलाई सहकारीमार्फत शुद्धीकरण गरेको आरोप छ । उनले जगदम्बा स्टिलका कामदार उपेश बस्नेतलाई प्रयोग गरी ‘प्रतिभा बहुउद्देश्यीय सहकारी’, ‘कमल बहुउद्देश्यीय सहकारी’ र ‘नेचुरल बचत तथा ऋण सहकारी’मा रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएको छ । १० लाखभन्दा कमको सीमामा रहेर पटक–पटक रकम जम्मा गरी बैंकको नियमन छल्ने प्रयास गरिएको अभियोग पत्रमा उल्लेख छ ।
यस प्रकरणमा श्रीराम टोबाको उद्योगका सञ्चालकहरू चुन्नप्रसाद शर्मा र कमलकिशोर मालपानीलाई भने सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको छ । उनीहरूले विष्णु पौडेलकै दबाब र सहजीकरणमा दीपक भट्टलाई शेयर दिएको स्वीकार गर्दै अनुसन्धानमा सहयोग गरेकाले उनीहरूलाई सजायमा छुट दिइएको जनाइएको छ ।







