बुटवल,३१ असार ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालकाे सेवा प्रवाह, व्यवस्थापन, पूर्वाधार, जनशक्ति, सुशासन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न माग गर्दै २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र बिककाे नेतृत्वमा बुधबार अपरान्ह गएको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णु गाैतमलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले प्रत्येक नागरिकले सरकारी अस्पतालबाट सहज, गुणस्तरीय र सम्मानजनक सेवा पाउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

माओवादीले ओपिडी टिकट वितरण प्रणालीलाई प्रविधिमैत्री बनाउँदै क्यूआरमार्फत भुक्तानी, अनलाइन पूर्वदर्ता र डिजिटल टोकन प्रणाली लागू गर्न, इमर्जेन्सी सेवा विस्तार गर्न, पित्तथैली, किड्नीको पथरी, पाठेघर तथा हाडजोर्नीसम्बन्धी शल्यक्रियाको क्षमता बढाउन र बिरामीले लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न माग गरेको छ ।

यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका तथा गम्भीर बिरामीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउन, डायलाइसिस सेवा विस्तार गर्न, क्यान्सर, मुटु, मस्तिष्कघात, कलेजो तथा अन्य जटिल रोगको विशेषज्ञ सेवा नियमित सञ्चालन गर्न, एमआरआई, सिटी स्क्यान,अल्ट्रासाउन्ड तथा प्रयोगशाला सेवा २४सै घण्टा सञ्चालन गर्न र स्वास्थ्य बीमा अन्तर्गतका सेवा सहज बनाउन पनि आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा अस्पतालभित्र औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न, बिचौलियाको प्रभाव अन्त्य गर्न, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न, हेल्प डेस्क तथा हटलाइन सञ्चालन गर्न, पोस्टमार्टम सेवा व्यवस्थित बनाउन, कर्मचारी व्यवस्थापनमा योग्यता र कार्यसम्पादनलाई आधार बनाउन तथा सबै स्वास्थ्यकर्मीबाट सेवाग्राहीप्रति सम्मानजनक र सेवामैत्री व्यवहार सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ तथा स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्न, सूचना प्रविधिमैत्री प्रशासन विकास गर्न, नियमित सार्वजनिक सुनुवाइ तथा सेवा समीक्षा सञ्चालन गर्न र जनगुनासोको समयमै सम्बोधन गर्न पनि माओवादीले माग गरेको छ ।

पत्रको अन्त्यमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानप्रति सम्मान व्यक्त गर्दै लुम्बिनी प्रादेशिक अस्पताललाई सुशासित, पारदर्शी, सेवाग्राहीमैत्री तथा गुणस्तरीय नमुना सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिलाई समेत बोधार्थ पठाइएको छ ।