बुटवल,३१ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ४ निवासी व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंकिङ कसुरको आरोपमा शर्मालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैंकको सिफारिशमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष समेत रहेका उनलाई पक्राउ गरिएको हो ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग संकास्पद कारोबार देखिएपछि उनी पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियो ।

कम्पनीले रिसोर्ट निर्माण र जग्गा खरिद गर्न भनेर प्रभु बैंकबाट ४८ करोड रुपैयाँ बिनाधितो कर्जा निकालेको थियो । कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भनेर कबुलियतनामा गराई सो कर्जा कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरुको बक्यौता तिर्न प्रयोग गरिएको थियो ।

बैंकिङ कसुर सजाय ऐन, २०६४ को दफा ८ विपरित कर्जा रकम दुरुपयोग गरिएको सीआईबीको आरोप छ ।

राष्ट्र बैंकले बैंक सुपरिवेक्षण विभागले तयार पारेको विशेष स्थलगत प्रतिवेदनका आधारमा शर्मालाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयमार्फत् पत्राचार गरेको थियो ।

सोही अनुसार उच्च अदालत पाटनको अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।