काठमाडौँ,३० असार ।
पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ ।

नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जनाएको छ । बुधबारदेखि साविकै १४.२ केजीको सिलिन्डर विक्री हुने भएको छ। यसअघि ७.१ केजीको ग्यास विक्री हुँदै आएको थियो ।

आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रुपैयाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ ।

केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने निगमले जनाएको छ । अहिले बजारमा रहेको आधा ग्यासको सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म ७.१ केजी र १४.२ केजीको सिसिन्डर बिक्री हुने जनाएको छ । दुवै किसिमका सिलिन्डरको तौल र मूल्य यकीन गरेर खरिद गर्न निमगले उपभोक्तालाई आग्रह गरेको छ ।