बुटवल,२७ असार ।
बैंकिङ कसुर मुद्दामा रुपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पौडेलले जग्गा खरिद–बिक्रीको कारोबारका क्रममा दिएको ११ लाख रुपैयाँ बराबरको चेक जानाजानी भुक्तानी हुन नदिने उद्देश्यले बैंकमा रोक्का गराएको आरोप लागेको छ । उक्त घटनापछि पीडित पक्षको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार पौडेलले सैनामैना निवासी सम्राट चन्द -बजाज)बाट जग्गा खरिद गरी नामसारी -पास) सम्पन्न भएपछि भुक्तानी स्वरूप ११ लाख रुपैयाँको चेक दिएकी थिइन्। तर, चेक प्राप्त गरेलगत्तै उनी आफैं बैंकमा पुगेर चेकबुक हराएको भन्दै उक्त चेकको भुक्तानी रोक्न निवेदन दिएको आरोप छ ।
पीडित सम्राट चन्दले आफूले पाएको चेक बैंकमा साट्न जाँदा भुक्तानी रोक्का गरिएको जानकारी पाएपछि आफू आर्थिक रूपमा ठगिएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् । प्रहरीले पीडितको जाहेरी तथा प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ पुर्जी कार्यान्वयन गर्दै पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही,भैरहवा पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण चन्दले पक्राउ परेकी महिलामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिए । नेपालको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कुनै व्यक्तिले जानीजानी चेक जारी गरी खातामा पर्याप्त रकम नराख्ने, चेकको भुक्तानी रोक्ने वा प्राप्तकर्तालाई आर्थिक हानि पु¥याउने उद्देश्यले बैंकलाई भुक्तानी रोक्न निर्देशन दिएमा त्यो बैंकिङ कसुर मानिन्छ ।
ऐन अनुसार कसुर प्रमाणित भएमा चेकमा उल्लेख भएको रकम पीडितलाई भराइ दिनुपर्ने, बिगो बराबर जरिवाना लाग्न सक्ने, कैद सजाय हुने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । हाल पक्राउ परेकी महिलामाथिको आरोप अनुसन्धानको क्रममा रहेकाले अन्तिम दोषी वा निर्दोष भन्ने विषय अदालतको निर्णयबाट मात्र टुंगो लाग्नेछ ।






