काठमाडौँ,२७ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले शनिबार देशभरको मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो पोखरामा सबैभन्दा बढी ८० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने काठमाडौँ, धनकुटा, जिरी र ताप्लेजुङमा ७० प्रतिशतसम्म वर्षा हुने अनुमान गरिएको छ । यस्तै, विभिन्न सहरमा ६० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि पोखरामा ७० प्रतिशत वर्षाको सम्भावना छ। काठमाडौँसहित डडेल्धुरा, दिपायल, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा, सिमरा, ओखलढुङ्गा, विराटनगर, धरान र ताप्लेजुङमा ६० प्रतिशतसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
तापक्रमतर्फ दिउँसो दिपायलमा सबैभन्दा बढी ३४ देखि ३६ डिग्री सेल्सियस पुग्ने अनुमान छ भने जोमसोममा सबैभन्दा कम २२ देखि २४ डिग्री सेल्सियस रहनेछ । राति जोमसोममा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।






