काठमाडौं,२६ असार ।
जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई लिएर युवाहरू सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

युवा, चालक तथा राइड शेयरिङ गर्नेहरूले आज काठमाण्डाैकाे माइतीघर मण्डलमा सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन् । उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको बताए ।

प्रदर्शनकारीहरूले घटनाका बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाएका छन् । उनीहरूले याे घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

विशेषगरी राइड शेयरिङमा आबद्ध युवाहरूले सरकारले कर मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । यातायात विभागले राइड शेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिसन लिइरहेको उनीहरूको गुनासाे छ ।

प्रदर्शनकारीहरूले अव्यावहारिक जरिवाना भएकाे भन्दै त्यसलाई खारेज गर्न, काठमाण्डाैभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन् । उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

हिजो जलनबाट घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो ।