काठमाडौं,२६ असार ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सम्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट,नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न उनले निर्देशन दिए ।

बैठकमा उपकुलपति डा.माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल २ हजार ६२० विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेकाे उनले बताए ।

कार्यक्रममा विश्वविद्यालयका ८ सम्बन्धन प्राप्त कलेज र ८ सहकार्यमा सञ्चालित कलेज रहेका छन् । विश्वविद्यालयमा २०२ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको जानकारी गराइएको थियो ।

छिमेकी राष्ट्र चीन, जापान, भारत, कोरिया लगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र सम्पन्न गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको,पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै,विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको,आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा समेत प्रगति हासिल गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्य,रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेलेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।