काठमाडौँ, २५ असार ।
रुपन्देहीसहित देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगर चौरालीपथस्थित सडकमा लु.५४ प १३१ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा बुटवल-११ का २५ वर्षीय रोचक बेलबासेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बेलबासेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै,मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकमा बुद्ध चोकबाट नमुना चोकतर्फ जाँदै गरेको बा.प्र ०३-००४ प ७२७२ नम्बरको स्कुटर बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१० आनन्दटोलका २१ वर्षीय सागर स्याङ्तान रहेका छन्। हेटौंडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सुनसरी, सप्तरी, सिराहा, धनुषा, मकवानपुर र रूपन्देहीमा भएका यी दुर्घटनामा परी अन्य दुई जना घाइते भएका हुन् ।
सुनसरीको कोशी गाउँपालिका-८ केराबारीस्थित सडकमा बुधबार राति भाण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८३१ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रंगेली नगरपालिका-३ का ४२ वर्षीय पदम राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको इनरूवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पिकअपमा सवार घाइते भएका अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, सप्तरीको बलान बिहुल गाउँपालिका-१ स्थित सडकमा बोदेबरसाईनबाट सिराहातर्फ जाँदै गरेको प्रदेश २-०१-००२ प ७७२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ८० वर्षीया भल्सरीया देवी यादव रहेकी छन्। ठक्करबाट गम्भीर घाइते भएकी यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, सिराहाको गोलबजार नगरपालिका-९ स्थित सडकमा मे.१ ख २३६३ नम्बरको बस र म.प्र ०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सिराहा नगरपालिका-२२ हतकडाका १५ वर्षीय नरेश कुमार यादव र धनुषाको शहिद नगरपालिका-१ का १५ वर्षीय ईन्तियाज राईन कवाडीको मृत्यु भएको हो । दुर्घटनामा नरेश कुमारको घटनास्थलमै र ईन्तियाजको विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलमा सवार घाइते भएका अन्य एक जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ कुमहरौनास्थित सडकमा पनि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भगवतीपुरबाट लक्ष्मीनिया बजारतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००५ प ८७७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीया गुलपिया देवी महराको बुधबार राति मृत्यु भएको हो । जनकपुर मोर्डन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य जारी छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






