बुटवल,२३ असार ।
रूपन्देहीको भलुही स्थित देवदह मेडिकल कलेजमा यस क्षेत्रमै पहिलोपटक ढाड तथा मेरूदण्डकाे दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
ठाड तथा मेरूदण्डकाे नसा च्यापिएका कारण दु:ख पाएका पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ४ का ४४ बर्षिय पिताम्बर पाेखरेलकाे दुरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो ।
ढाड कम्मर दुख्ने समस्याले पिडित पाेखरेलले सानो प्वाल पारेर गरिएको शल्यक्रियाले आफुलाई ठूलो राहत महसुस भएको बताए ।
मेडिकल कलेजका स्पाइनल राेग बिशेषज्ञ डा अंकित कार्की र डा बिशाल श्रेष्ठ नेतृत्वको टोलीले लुम्बिनी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
सानो प्वाल पारेर गरिने यो शल्यक्रियामा कम रक्तश्राव हुने,एक दुई दिनमै घर जान सकिने र समग्रमा जाेखिम कम हुने डा अंकित कार्कीले बताए ।
यो प्रविधिबाट शल्यक्रिया गरिएको लुम्बिनी प्रदेशमै पहिलो भएको अर्का स्पाइनल राेग बिशेषज्ञ डा विशाल श्रेष्ठको भनाइ छ ।
आइतबार शल्यक्रिया गरिएका पाेखरेल आफै शाैचालय जानसक्ने भएपछि मंगलबार डिस्चार्ज भएकाे मेडिकल कलेजका जनसम्पर्क अधिकृत मुक्ति काफ्लेले जानकारी दिए ।







