बुटवल,२३ असार ।
अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन 7 ए बाट हाउस अफ डेलिगेट्सको प्राईमरीमा उमेद्वार रहेका नेपाली मूलका यूवा सतीश चापागाईं विजयी भएका छन् ।
चापागाईले मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट 7A लागि डेमोक्रेटिक पार्टिबाट प्राईमरीमा उम्मेदवार बनेका थिए ।
यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो । जुन २३ मा सम्पन्न निर्वाचनको ९९ प्रतिशत मतगणना हुंदा चापागाईले अन्य दुई प्रतिस्पर्धीलाई पछाडी छोड्दै दोश्रो स्थान सुरक्षित गरेका हुन् । उनले खसेको कुल १० हजार ४ सय २ मतमध्ये २ हजार ७ सय १८मत प्राप्त गरेका छन् । यो जितसंगै अब चापागाईले नोभेम्बरमा रिपब्लिकन उमेद्वारहरुसंग फेरि चुनाव लड्नुपर्ने हुन्छ ।
उनका मुख्य प्राथमिकतामा Affordable Maryland, Safe Communities र Strong Businesses रहेका छन् । बढ्दो महँगी नियन्त्रण, सुरक्षित समाज निर्माण र स्थानीय व्यवसायलाई थप सशक्त बनाउने विषयलाई उनले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन् ।
सतीश चापागाईं हाल डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रिय सदस्यसमेत हुन् । यसले स्थानीय राजनीतिक क्षेत्रमा उनको सक्रियता र अनुभवलाई झन् स्पष्ट बनाएको छ ।
राजनीतिसँगै उनी सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् । उनी साना व्यवसायीका रूपमा स्थापित हुनुका साथै बाल्टिमोर काउण्टि पब्लिक स्रपयुलमा दोभाषेका रूपमा कार्यरत छन्। साथै विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
चापागाईंले श्रमिक परिवार, कमजोर वर्ग र समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सार्वजनिक सहभागिता र सामाजिक न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएको दाबी गरेका छन् । उनी समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने र व्यवहारिक समाधान खोज्ने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।
राजनीति र सामाजिक सेवासँगै चापागाईं साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेको उल्लेख गरिएको छ। प्रचार सामग्रीमा उनलाई आफुलाई सम्पादक, कवि तथा गीतकारका रूपमा परिचय दिइएको छ, जसले उनको बहुआयामिक व्यक्तित्वलाई झल्काउँछ । एनआरएनए अमेरिकामा दुई पटक मिडिया कोअर्डिनेटर भईसकेका चापागाई अहिले सल्लाहकार छन् ।
अमेरिकामा नेपाली मूलका व्यक्तिहरू क्रमशः स्थानीय राजनीतिमा सक्रिय बन्दै गएको सन्दर्भमा सतीश चापागाईंको उम्मेदवारीलाई एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ । उनको उम्मेदवारीले केवल व्यक्तिगत राजनीतिक यात्रा मात्र नभई नेपाली समुदायको प्रतिनिधित्व र सहभागितालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।






