बुटवल,२२ असार ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता बिरूद्व तीन करोड ४५ लाख ९९ हजार रूपयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार गुप्ता २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो । सो अवधिमा उनी र उनको एकाघर परिवारको कानुनी आम्दानी तथा खर्चको विवरण विश्लेषण गर्दा आम्दानीभन्दा खर्च उल्लेख्य रूपमा बढी देखिएको आयोगको निष्कर्ष छ ।
अनुसन्धानबाट गुप्ता र उनको परिवारले बैंक मौज्दात, तलब-भत्ता, कम्पनीबाट भएको आम्दानी, बैंक ऋण तथा कृषि आयलगायत स्रोतबाट कुल तीन करोड ५१ लाख ५२ हजार कानुनी आम्दानी गरेको देखिएको छ ।
तर सोही अवधिमा बैंक मौज्दात, जग्गा खरिद, घर निर्माण, बैंक ऋणको साँवा-ब्याज भुक्तानी, अध्ययन खर्च, सवारीसाधन खरिद, शेयर तथा कम्पनीमा लगानी, बीमा शुल्कलगायत शीर्षकमा छ करोड ९७ लाख ८१ हजार खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।
यसरी कानुनी आम्दानीभन्दा तीन करोड ४५ लाख ९९ हजार बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको आरोप छ । आयोगले उक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको दाबी गरेको छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा गुप्ताले पेस गरेको सम्पत्ति विवरण पनि वास्तविक आर्थिक अवस्था र आर्जनसँग मेल नखाने तथा अस्वाभाविक देखिएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति एकाघर परिवारका सदस्यहरूको नाममा समेत रहेको पाइएको आयोगले जनाएको छ ।
यस प्रकरणमा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासहित उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ताविरुद्ध समेत भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।






