बुटवल,२१ असार ।
लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ ।
प्रमुख प्रतिपक्ष दलसहित अन्य विपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक प्रतिपक्षले उठाएका विषयमा मुख्यमन्त्री आचार्यले सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो ।
बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महत्वपूर्ण आयोजनामा आवश्यक बजेट थप गर्ने,क्रमागत योजनामा रकमान्तरमार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उनले बताए ।
निर्वाचन क्षेत्रका आधारमा कतै योजना कम वा बढी परेको भए त्यसलाई पनि विभिन्न माध्यमबाट सन्तुलन मिलाइने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले अन्य प्रदेशहरूले समेत यही अभ्यास अपनाएको दाबी गरे । साना तथा अत्यावश्यक योजनालाई मर्मत सम्भार कार्यक्रममार्फत अघि बढाउने र मन्त्रालयबाट छुटेका योजनालाई समेत सम्बोधन गर्ने तयारी सरकारको रहेको उनको भनाई छ ।
प्रतिपक्षी सांसदहरूले उठाएका सुझाव र ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सदनमा व्यक्त गरिएका सबै प्रतिबद्धता कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए ।
यसअघि आजै बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपाले बहिस्कार गरेपछि आधाघण्टाका लागि बैठक स्थगित भएको थियो ।
बजेटमा सत्ता पक्षकै सांसदहरुको समेत असन्तुष्टि जनाएपछि प्रदेश सभाको बैठक पटकपटक सूचना टासेर स्थगित हुँदै आएको थियो ।






