बुटवल,२१ असार ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी);बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान थालेको छ । पार्टी पुनर्गठन अभियानअन्तर्गत शनिबार रुपन्देहीमा पहिलो जिल्ला भेला गरिएको साे पार्टीले जनाएको छ ।
बुटवलमा सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ । भेलाले पार्टी केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै विष्णु तिवारी ‘मुकेश’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको बताइएको छ ।
भेलाले देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन् ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन् । सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको जनाइएको छ । यस्तै पार्टीका जनवर्गीय संगठनहरूको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।
तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का लगायतका नेतामाथि पार्टी नेतृत्वले निष्कासन गरेपछि विकसित घटनाक्रमसँगै देशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू नयाँ पुनर्गठित नेकपामा आबद्ध हुँदै आएकाे साे पार्टीले जनाएको छ ।
भेलामा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय भेषराज भुषाल र वसन्त श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय शरद वली र जया पौडेल लगायतका नेताहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।






