बुटवल,२० असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजनामा सञ्चालित एआईकाे प्रयोग सम्बन्धि एकहप्ते तालिम शनिबार समापन भएको छ ।

बुटवलका जनप्रतिनिधि र नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीहरूका लागि आयोजित तालिमको शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

समापनका अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पछिल्लो समय प्रविधिको क्षेत्रमा भएको तिब्र विकाससँगै एआईकाे प्रयोग अति आवश्यक देखिएकाले त्यस सम्बन्धि एकहप्ते तालिम आयोजना गरिएको भन्दै आ आफ्नो क्षेत्रमा एआईकाे प्रयोग गर्न सहभागीहरूलाई सुझाव दिए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका कारण शिक्षा, स्वास्थ्य र आईटीमा बुटवल अब्बल बन्दै गएको भन्दै नगर प्रमुख पाण्डेयले अब एआई काे क्षेत्रमा पनि पर्याप्त बजेट बिनियाेजन गरिएकाे जानकारी गराए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री,वडा नं ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ,जनप्रतिनिधि कुमारी देवी दर्नाललगायतले तालिम उपयोगी भएको भन्दै यसले आफ्नो क्षेत्रमा काम गर्न थप सहज हुने विश्वास ब्यक्त गरे ।

इन्जिनियर अमृत रानाभाटकाे सहजिकरणमा सम्पन्न तालिममा ३० जनाको सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

बुटवलको जितगढी किल्लामै आयोजित कार्यशालाकाे साेमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।