बुटवल,१९ असार ।
बुटवल उपमहानगरपालिकाले नगर भित्रका विद्यार्थीलाई २४ हजार बढी थान “हाम्रो बुटवल” किताब निशुल्क बितरण गरेको छ ।

शुक्रबार बुटवल उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेयले विद्यालयका प्रधानाध्यापकहरूलाई किताब हस्तान्तरण गरेका हुन् ।

यसअघि नगरका सामुदायिक विद्यालयहरूलाई मात्रै बितरण गर्दै आएको स्थानीय पाठ्यक्रम अन्तर्गतको “हाम्रो बुटवल” किताब यसपटक संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि निशुल्क रूपमा बितरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले आफुहरूकाे कार्यकालमा बुटवलको शैक्षिक सुधारका लागि बुटवल उपमहानगरपालिकाले करोडौं रकम छुट्टयाइएको भन्दै त्यसको सकारात्मक परिणाम देखिन थालेको बताए ।

बुटवल उपमहानगरपालिकाले यसअघि प्रकाशन गरेको “हाम्रो बुटवल” पुस्तक परिमार्जनसहित पुनः प्रकाशन गरेर बितरण गरिएको उपमहानगरपालिकाका शिक्षा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।

संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १७ हजार र सामुदायिक विद्यालयका ७ हजार गरि २४ हजार बढी पुस्तक बितरण गर्न लागिएको महाशाखा प्रमुख खनालले बताए ।