काठमाडौँ,१८ असार ।
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

विधेयकको दफावार छलफलमा प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए । छलफलमा भाग लिने सांसदहरूले संशोधन पनि हालेका थिए ।

अन्तिममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी, हरिमोहन भण्डारीले संशोधन फिर्ता लिएका थिए । बाँकी सांसदहरूका संशोधन अस्वीकृत भएका थिए ।

सरकारले यससम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा पेस गरेको हो ।

त्यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,२०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । आजै बसेकाे प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।

विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिएका थिए । यो पनि सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।