बुटवल,४ असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजनामा दुई दिने वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम आजदेखि सुरु भएको छ ।

कार्यक्रमकाे शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नगरवासीलाई सीपसँग जाेडेर आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । सीप र संस्कार बिनाको शिक्षाकाे कुनै अर्थ नहुने भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले प्राविधिक शिक्षामा जाेड दिएको उल्लेख गरे ।
आफुसँग रहेको रकम कसरी सहि सदुपयोग गर्ने भन्ने बिषयमा व्यवहारिक ज्ञानका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै उनलेे कार्यक्रमबाट लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा मुख्य प्रशिक्षक अजय रेग्मीले वितीय साक्षरताकाे आवश्यकता र महत्व बारे प्रकाश पार्दै पैसाको सहि व्यवस्थापन गर्नुनै वित्तीय साक्षरता भएको उल्लेख गरे ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरका एकसय जनाको सहभागीता रहेको बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखाका प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।






