बुटवल,३१ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

दाङमा आयोजित पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए । उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो । तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा नेता डा.बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९,अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए ।

मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो । अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताए ।

अधिवेशनका प्रतिनिधिहरु अधिकांश घर फर्केका र मतदान स्थलमा नगण्य संख्यामा मात्र प्रतिनिधि रहेकाले मतदान हुने नहुने अनिश्चित भएको रास्वपा नेताहरूले बताएका छन् ।

अधिवेशनका प्रतिनिधिहरु लाखापाखा लागिसकेकाले सभापतिमा जस्तै अन्य पदाधिकारीमा पनि सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने अधिवेशनको बन्दसत्रमा पार्टीको नीति, सिद्धान्त, विचार बारे कुनै छलफल नभएको गुनासो गरेका छन् ।

प्रदेश प्रवक्ता भने मनोनित गर्ने व्यवस्था छ ।